मावि तहका विद्यार्थीलाई राहतअर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन शुल्क नलाग्ने

बझाङ , पुस १२ गते ।
कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गरेको यो निर्णय कार्यान्वयन भएमा हरेक वर्ष सामुदायिक विद्यालयमा अध्ययन गर्ने करिब पाँच लाख विद्यार्थीले परीक्षा फाराम र रजिस्ट्रेसन फारामका लागि शुल्क तिर्नुपर्दैन ।
यी शीर्षकमा शुल्क नलिने निर्णय गरेर बोर्डले कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ । सरकारी राजस्वसँग सम्बन्धित विषय भएका कारण शुल्क नलिने बोर्डको निर्णयसहितको सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा पठाउनुपर्ने छ ।
अर्थ मन्त्रालयले आर्थिक वर्षको सुरुवात हुनुअघि संसद्मा प्रस्तुत गर्ने विनियोजन विधेयकबाट यो विषय हटाएपछि मात्रै यो निर्णय पूर्ण कार्यान्वयनमा जाने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने विद्यालय तहमा यसै वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत विद्यार्थीबाट लिने शुल्क मिनाहा गर्ने योजना बनाएको थियो ।
तर, चालु आवको विनियोजन विधेयकमा विद्यार्थीबाट लिइने शुल्क र त्यसबाट सङ्कलन हुने राजस्वसम्बन्धी विषय समावेश भएका कारण तत्काललाई शुल्क नलिई परीक्षा फाराम र रजिस्ट्रेसन फाराम भराउने मन्त्रालयको योजना पूरा हुन नसकेको हो । अर्थ मन्त्रालयसँग यस विषयमा छलफल गर्दा शुल्क मिनाहा गर्न नसकिने भएपछि मन्त्रालयले अर्को वर्षदेखि मात्रै शुल्क नलिने गरी निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको थियो ।
बोर्डको अहिलेको निर्णय अनुसार सामुदायिक विद्यालयमा अर्को वर्षदेखि कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले रजिस्ट्रेसन र परीक्षा शुल्कबापत सरकारलाई पैसा तिर्नु पर्दैन । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार हरेक वर्ष कक्षा ९ मा पाँच लाख हाराहारी विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्ने गर्छन् । अहिले रजिस्ट्रेसन फारामबापत विद्यार्थीले तीन सय रुपियाँ राजस्व तिर्दै आएका छन् । त्यस्तै कक्षा १० को अन्त्यमा लिइने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि हरेक विद्यार्थीले परीक्षा फारामबापत पाँच सय रुपियाँ राजस्व तिर्दै आएका छन् ।
कक्षा ११ मा रजिस्ट्रेसन फाराम भरेबापत विद्यार्थीले बोर्डलाई छ सय रुपियाँ राजस्व तिर्दै आएका छन् । कक्षा ११ को परीक्षा सञ्चालनको जिम्मा सम्बन्धित विद्यालयको भए पनि रजिस्ट्रेसन शुल्क भने बोर्डले लिँदै आएको छ ।
शुल्क लिने कि नलिने भन्ने अन्योलका कारण यस वर्ष एसइईको परीक्षा फाराम भर्ने समयसमेत एक महिना ढिलो भइसकेको छ । परीक्षा नियन्त्रक पौडेलका अनुसार यस पटक परीक्षा फाराम भर्ने समय ३० दिन मात्रै दिइने छ । विगतमा परीक्षा फाराम भर्नका लागि ४५ दिन समय दिने गरिएको थियो ।
साथै रजिस्ट्रेसन तथा परीक्षा फारामका लागि दोब्बर दस्तुर तिरेर एक साता समय थप दिने व्यवस्था पनि यस पटकबाट हटाइएको बोर्डले जनाएको छ । पौडेलले भन्नुभयो, “आवश्यकता पर्‍यो भने फाराम भर्न केही दिन थप गर्न सकिन्छ तर दोब्बर दस्तुरको व्यवस्था हटाइएको छ ।”
परीक्षा फाराम र रजिस्ट्रेसन फारामबापत लिने शुल्क मिनाहा गरेपछि शिक्षा मन्त्रालयलाई भने हरेक वर्ष एक अर्ब रुपियाँभन्दा बढी आर्थिक व्ययभार थपिने छ । विद्यार्थीबाट लिएको शुल्कबाट परीक्षा सञ्चालन गर्दै आएको बोर्डलाई यो रकम मन्त्रालयले दिनुपर्ने छ । आर्थिक व्ययभार बढ्ने भएकै कारण कक्षा १२ को अन्त्यमा लिइने परीक्षा शुल्कको विषयमा भने बोर्डले हाल कुनै पनि निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
आजबाट श्रीस्वस्थानी व्रत शुरु

काठमाडौं : पौष शुक्ल पूर्णिमा। नेपाली सनातन धर्मावलम्बी एक महिने श्रीस्वस्थानी व्रत शुरु गर्दैछन्। पञ्चाङ्गमा सोमबार ५२ घडी ३४ पला Read more

बिराजले फिल्मको कमाईबाट छोरालाई किनिदिए साढे ३ करोडको गाडी

काठमाडौं: सन् २०२४ नेपाली फिल्म बजार उत्साहप्रद रह्यो। एक दर्जन बढी चलचित्रले १५ करोडमाथि कलेक्सन गरे। विदेशको प्रदर्शन अधिकार, डिजिटल Read more

विश्वका ५२ गन्तव्यमध्ये नवौँ स्थानमा प्रयो लुम्बिनी

काठमाडौँ : विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ। Read more

सदरमुकाम चैनपुरमा ट्राफिक व्यवस्थापनमा सुधार : तीन स्थानमा पार्किङ निषेध बोर्ड राखियो

बझाङ : बझाङको सदरमुकाम चैनपुर बजारमा पैदलयात्रुलाई आवतजावतमा समस्या हुँदै आएको गुनासो बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले बजारका तीन Read more