
डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
बझाङबाट धनगढीतर्फ गइरहेको ना ६ ख १९८२ नम्बरको यात्रुबाहक बस र धनगढीबाट बझाङ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ००२त ४४०३ नम्बरको ट्याक्टर आपसमा ठोक्किएपछि दुर्घटना भएको हो।
दुर्घटनामा ट्याक्टर चालक र बसमा यात्रा गरिरहेका खप्तडछान्ना गाउँपालिका–५ का हिरू कार्की घाइते भएका छन्। ट्याक्टर चालकलाई तत्काल डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ। चालकको बाह्य रूपमा गम्भीर चोट नदेखिए पनि आन्तरिक चोटको आशंका गरिएको छ।
त्यस्तै, बसमा सवार कार्कीको दाहिने हातमा बसको अगाडिको सिसा फुट्दा चोट लागेको जनाइएको छ। घाइते दुबैजनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।