पुष १८।धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–८, लुखाका आशिष राई शारीरिक रूपमा अशक्त हुनुहुन्छ । २२ वर्षीय राईको बोली आउँदैन, हातखुट्टा चल्दैनन् । उहाँको दैनिकी ओछ्यानमै लडेर बित्ने गरेको छ । आजसम्म राईले औपचारिक शिक्षा लिने अवसर पाउनुभएको छैन तर पनि राईसँग अद्भूत क्षमता छ, अनौठो कला छ । राई सुन्दर चित्र बनाउनुहुन्छ ।
चित्र कोर्नु आफैँमा सामान्य कर्म होइन, यसका लागि विशेष कला चाहिन्छ । उहाँ मुखले सिसाकलम च्याप्नुहुन्छ, अनि त्यसैले आफ्ना मनका भावना चित्रमार्फत कापीमा उतार्नुहुन्छ । उहाँले बनाएका चित्र सुन्दर र आकर्षक हुन्छन् । उहाँ आफूले देखेका हिमाल, पहाड, तराई, जनावर, फूलहरू चित्रका रूपमा प्रस्तुत गर्नुहुन्छ ।
त्यसो त उहाँले यस्तो चित्र बनाउन थाल्नुभएको करिब एक वर्ष मात्रै भएको छ । उहाँले आफ्नी बहिनीले बनाएको देखेर चित्र बनाउन सुरु गरेको आशिषकी आमा लक्ष्मी राई बताउनुहुन्छ । आमा लक्ष्मी भन्नुहुन्छ, “बहिनीले चित्र बनाएको देखेपछि आफैँले कुकुरको चित्र बनायो । सुरुमा त विश्वास लागेन तर पछि युट्युबमा हेर्दै बनाएको रहेछ । भगवान्ले छोरालाई हातखुट्टा नदिए पनि दिमाग दिएको रहेछ, यसैमा खुसी छौँ ।”
करिब तीन वर्षको उमेरदेखि उहाँमा यो समस्या देखा परेको थियो । करिब पाँच वर्षको उमेरसम्म घिस्रिएर हिँडे पनि अहिले भने त्यो पनि गर्न सक्नुहुन्न । विभिन्न स्थानमा लगेर उपचार गराए पनि निको नभएको परिवारले जनाएको छ ।
उहाँ ओठ र चिउँडोको सहाराले मोबाइल, ट्याब चलाउनुहुछ । आफूलाई मन पर्ने गीत सुन्नुहुन्छ । उहाँले फेसबुक र युट्युब एकाउन्ट खोल्नुभएको छ । फेसबुक च्याटको माध्यमबाट साथीभाइसँग कुराकानी गर्नुहुन्छ । सामाजिक सञ्जालमा चित्रहरू पोस्ट गरेर आफ्नो सिर्जना अरूलाई देखाउनुहुन्छ । अरूले बोलेका कुरा सुन्नुहुन्छ र बुझ्न सक्नुहुन्छ ।