भाइरल र इन्फ्लुन्जा ज्वरो छुट्याउन नसक्दा धेरै बिरामी सिकिस्त हुन्छन् : डा. सुवास पन्त

पुस १५ ।काठमाडौँ : देशभर चिसो बढेको छ । चिसोमा सबै उमेर समूह र शारीरिक अवस्था कमजोर भएका व्यक्ति बिरामी पर्ने र अस्वस्थ महसुस गरिरहेका हुन्छन् । कतिपय अवस्थामा यो सामान्य रुघाखोकी लागेर दुई/तीन दिनमा निको हुन्छ । कतिपय अस्पताल नै पुगेर उपचार गराउनुपर्ने अवस्थामा पुग्छन् ।

कस्तो लक्षण देखिए घरेलु उपचार गर्ने र कस्तो लक्षण देखिए अस्पतालमा गएर जाँच गराउने भन्ने दुबिधा हुन्छ । हामी यसै दुबिधामा परेर सिकिस्त हुन्छौँ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा कार्यरत फिजिसियन डा. सुवास पन्तले भाइरल ज्वरो र इन्फ्ल्एन्जा ज्वरो छुट्याउन नसक्दा जटिल अवस्थामा पुग्ने गरेको बताए । इन्फ्ल्एन्जा ज्वरोलाई भाइरल ज्वरोको उपचारले नपुग्ने कुरा बुझ्नुपर्ने बताए ।

डा।पन्तले रुघाखोकीसहित खान मन नलाग्ने, टाउको दुख्ने, श्वास फेर्न अप्ठ्यारो महसुस भयो भने अस्पताल गएर उपचार गराउन सुझाव दिए । प्रस्तुत छ, काठमाडौं मेडिकल कलेजका फिजिसियन डा. सुवास पन्तसँग गरिएको कुराकानीको सम्पादित अंश ।

देशभर चिसो बढेको छ, चिसोसँगै प्रदूषण पनि बढेको हो ?

प्रायजसो चिसो महिनामा प्रदूषण पनि बढी हुन्छ । चिसोले धुवाँलाई अलिकति बाँधेर राखेको हुन्छ । जाडो महिनामा पानी पर्ने सम्भावना पनि कम हुने भएकाले पनि प्रदूषण उच्च हुने हो । चिसो महिनाहरूमा बिहानको समय प्रदूषण उच्च हुने गरेको छ । प्रदूषणको मात्रा पानी कम भएर पनि बढ्छ नै । दोस्रो, धुलोहरूलाई ट्रयाप गर्ने सिस्टम भएर बिहानको समयमा प्रदूषण बढ्ने गरेको छ ।

यो समयमा कस्तो खालको सङ्क्रमणको जोखिम रहन्छ ?

सङ्क्रमणबारे प्रायः सबै जनालाई थाहा नै होला । रुघाखोकीको बिरामी अलिकति बढ्ने समय हो यो । रुघाखोकीमा पनि धेरै मान्छेहरू (क्न्फ्युज) अलमल भइरहेका हुन्छन्, कुन रुघाखोकी सामान्य र कुन रुघाखोकी गम्भीर खालको भनेर । मेडिकलको भाषामा भन्दा सामान्य रुघाखोकी हुन्छन्,जसलाई हामीले राइनो भाइरस भनेर भन्ने गर्दछौँ । अर्को रुघाखोकी चाहिँ अलिकति घाँटी पनि दुख्ने, आँखा पनि रातो हुने हुन्छ । त्यसलाई हामी आइडिनो भाइरस भन्ने गर्छौं । तेस्रो रुघाखोकी अलिकति जटिल हुन्छ । त्यसलाई हामी इन्फ्ल्युएन्जा भन्ने गर्छौं । यसले रुघाखोकी पनि ल्याउने, ज्वरो धेरै आउने टाउको दुख्ने र कसैकसैलाई त निमोनिया समेत हुने गरेको छ । यो सबै कुरा जाडो महिनामा अलिकति बढी हुने गर्दछ । जाडो महिनामा प्रेसर बढ्ने, मुटुको रोगीको मुटुको धड्कनको गति पनि बढ्ने, पक्षघातको दर पनि बढ्ने हुन्छ । एउटा सरुवा रोग अर्को दीर्घकालीन रोगहरू पनि यही समयमा बढी हुने गर्दछ ।

चिसोको समयमा अस्पतालहरूमा कस्ता खालका बिरामीहरूको चाप बढी हुन्छ ?

जाडो महिनामा हुने भनेकै रुघाखोकी हो । अनि दम र श्वासप्रश्वासका बिरामीहरूको अस्पताल आउने दर बढी हुने गर्दछ । दमको बिरामी नहुनेहरूमा चाहिँ रुघाखोकी बढ्ने, रुघाखोकी ज्वरोमा परिणत हुने, ज्वरो आएपछि खोकी लाग्ने, त्यही रुघाखोकी निमोनियामा परिणत हुने लगायत बिरामीहरू नै यो जाडो महिनामा अस्पताल आउने दर उच्च हुन्छ ।

रुघाखोकीका संक्रमणहरु कसरी छुट्याउने ?

साधारण रुघाखोकीलाई राइनो भाइरस भन्ने गरिन्छ । यो संक्रमण भएपछि खान मन नलाग्ने, नाकबाट पानी आउने हाच्छिउँहरू हुन्छ । अर्को एडिनो भाइरस हुन्छ । यो सबैभन्दा धेरै विद्यार्थीलाई हुने गर्दछ । यसमा विद्यार्थीका आँखा रातो हुने, घाँटी दुख्ने, कसैलाई एकदमै धेरै ज्वरो आउने हुन्छ । तेस्रो इन्फ्ल्युएन्जा । साधारण रुघाखोकी र इन्फ्लुन्जामा के फरक हुन्छ भन्दाखेरि यसमा ज्वरो धेरै आउने, ज्वरो आएपछि टाउको पनि दुख्ने, खान पनि मन नलाग्ने, खोकी पनि लाग्ने, खोकी बढ्दा निमोनिया हुने हुन्छ । यो दुई वटामा हामीले छुट्याउनुपर्छ । साधारण रुघाखोकी के हो ?इन्फ्लुएन्जाका विभिन्न प्रकारहरू हुन्छ । कुनैपनि रुघाखोकी लाग्दा खान मन लागेन, टाउको दुख्यो, धेरै श्वास फेर्न गाह्रो भयो भने यो सामान्य खालको रुघाखोकी होइन भन्ने बुझेर चिकित्सकसँग परामर्श लिने र अस्पताल गएर आवश्यक जाँच गर्ने कुरा चाहिँ बुझ्नुपर्यो मान्छेहरूले ।

रुघाखोकीको पहिचान गर्न नसक्दा ठूला स्वास्थ्य समस्याको सिकार हुनुपरेको हो ?

इन्फ्लुन्जाका पनि धेरै प्रकारहरू हुन्छन् । हामी छुट्याउनुपर्ने चाहिँ साधारण भाइरल ज्वरो र इन्फ्लुन्जा ज्वरो हो । इन्फ्लुएन्जा ज्वरोमा अन्य समस्याहरू पनि थपिने गरेका छन् । जस्तै रुघाखोकीमा मान्छेलाई खान मन लागिरहेको हुन्छ । खोकी लागेपनि मान्छे सक्रिय नै हुन्छ । टाउको दुख्ने समस्याहरू हुँदैन । इन्फ्लुन्जामा यो सबै कुराहरू थपिन्छ । टाउको पनि दुखिराको हुन्छ । मुख नमिठो भइरहेको हुन्छ । खान मन पनि लागिरहेको हुँदैन । जटिल हुँदै जाँदा निमोनियाहरू हुने चाहिँ इन्फ्लुन्जामा हुन्छ । कुन बिरामीलाई कस्तो भएको छ भन्ने कुरामा पनि भर पर्ने गर्दछ । जस्तै मुटुको बिरामी, किड्नीको बिरामी, दमको बिरामीलाई चाहिँ साधारण कुराहरू पनि जटिल भइसकेको हुन्छ । अरूलाई घरमै ज्वरो र खोकी आएपनि कुर्न सकिन्छ । तर ती ग्रुपका प्यासेन्टहरुलाई कहिले काहीँ आजको भोलि नै गाह्रो भइसकेको हुन्छ । तपाईँलाई कस्तो खालको रुघा लागेको छ ? कस्तो खालको ज्वरो आएको छ ? तपाई कस्तो खालको बिरामी हो त्यसमा पनि भर पर्छ । यदि रुघाखोकी लागेकै अवस्थामा श्वासप्रश्वासमा समस्या आयो, दम बढ्दै गएको छ भने त्यस्तो अवस्थामा कुर्न हुँदैन । अस्पताल गइहाल्नुपर्छ । केही नभएको बिरामी सामान्य रुघाखोकी मात्र आएको छ भने त्यस्तो अवस्थामा दुई,तीन दिन कुर्न सकिन्छ । आफूमा कस्तो खालको रुघाखोकी लागिरहेको छ । त्यसमा खान मन छ कि छैन ? कति दिनदेखि ज्वरो आइ रहेको छ ? ज्वरो र खोकी बढेको छ कि छैन ? त्यसले असर पारेको छ कि छैन ? यो सबै छुट्याएर अस्पताल जाने कि घरमै बस्ने भनेर छुट्याउन सकिन्छ ।

हामीले रुघाखोकी संक्रमण भएकै अवस्थामा पनि नियमित कामहरु गरिरहेका हुन्छौँ, यसले कस्तो खालको जोखिम निम्त्याउँछ, कसरी सजग हुने ?

रुघाखोकी प्रायजसो सर्छ नै । यो सर्ने माध्यम भनेको खोकी र हाच्छिउँ नै हो । मास्क लगाउन सकेको अवस्थामा त्यो एक अर्कामा सर्ने क्रम कम हुन्छ । हातहरू नाक र मुखमा लगाउँदा स्यानिटाइज गरेको छ भने संक्रमण एक अर्कामा सर्दैन । नत्र सर्ने सम्भावना धेरै नै हुन्छ । तपाईँले याद गर्नुभएको होला घरमा पनि एकलाई रुघाखोकी लाग्दा प्रायः सबैलाई हुने गर्दछ । त्यही चिज विद्यालयमा हुँदा चाहिँ हामी सतर्क हुन्छौँ । हात धुन्छौँ । विद्यालयमा पनि असावधानीका कारण प्रायः सबैमा सरको हुन्छ । अलिकति बच्न पाए यसको जोखिम पनि कम हुन्छ र सर्ने सम्भावना पनि कम हुन्छ । यसबाट बच्नको लागि हातधुने, हात धुन सकिँदैन भने स्यानिटाइजर प्रयोग गर्ने गर्नुपर्दछ । मास्क लगाउन त सम्भव नै छैन विद्यालयहरूमा । हामीले मास्क लगाउन नसकेपनि हामी सम्भवतः दूरी कायम गर्नसक्यो भने पनि यो चिजका सर्ने जोखिम पनि कम हुन्छ । अरु दीर्घकालीन बिरामीहरूलाई पनि बचाउन सकिन्छ । वृद्धवद्धा र बिरामी मान्छेहरूको इम्युनिटी पावर कम हुने भएका कारण रुघाखोकी लागेको खण्डमा उनीहरु रुघाखोकी मै सीमित हुन पाउँदैन । त्यही कुरा जटिल भइदिन्छ ।

जाडो याममा वृद्धवृद्धा, गर्भवती महिला, बालबालिकाहरू अलि बढी बिरामी हुन्छन् नि ?

इम्युनिटी कम भएका मान्छेलाई सङ्क्रमणले अलि छिटो समात्ने गर्दछ । साधारण रुघाखोकीमा ब्याक्टेरिया थपिएर फेरि निमोनिया हुने डर पनि हुन्छ । अन्य मान्छेमा साधारण रुघाखोकी भएपनि यी समूहका मान्छेहरूमा संक्रमण बढी हुने चान्स हुन्छ ।

यसरी रुघाखोकी लागेका मान्छेले घरमै बसेर गर्नुपर्ने उपचार विधिहरू के—के हुन सक्छन् ?

मैले कुनैपनि रोगको घरायसी उपचारमा त नलाग्न नै सल्लाह दिन्छु । गाह्रो भयो अथवा ज्वरो बढ्ने बित्तिकै चिकित्सकसँग सल्लाह र परामर्श लिनुपर्छ । हामीले बेलैमा डाक्टरसँग परामर्श लियो भने त्यो चिज बढ्दैन । त्यो चिज निमोनियामा परिणत हुँदैन । त्यस्ता खतराबाट बच्नको लागि सल्लाह र परामर्श लिनुपर्छ भन्छु म चाहिँ । हामीसँग एउटा परम्परा जस्तै छ । सामान्य रुघाखोकी लाग्यो भने नजिकैको मेडिकलमा गएर औषधिहरू लिने हुन्छ । त्यस्तो अवस्थामा रुघा र ज्वरो मात्र छ भने केही समस्या भएन । यदि बढेको छ भने एकचोटि चिकित्सकसँग परामर्श त लिनैपर्छ ।

चिसो याममा हाम्रा आनीबानी तथा खानपानमा कस्तो ध्यान दिनुपर्छ रु तपाईँको सल्लाह के छ ?

चिसो मौसममा दुई वटा कुरामा एकदमै ध्यान दिन जरुरी छ । चिसो मौसममा बिहान धेरै नै चिसो हुने भएका कारण यस्तो अवस्थामा प्रेसर भएका र दीर्घकालीन रोग लागेका मान्छेहरूले ध्यान दिनुपर्छ । पक्षघात, मुटुका बिरामी, दमका बिरामीहरूमा मुख्यतः यो समयमा स्वास्थ्य समस्याहरू बढ्छ नै । बिहान त धेरै नै चिसो हुन्छ । त्यो समयमा त प्रदूषणको समस्या हुने भएका कारणले पनि नहिँड्नु भन्छु बिरामीलाई । मिल्छ भने अलिकति घाम लागेको समयमा जहाँ प्रदूषण कम छ त्यो ठाउँमा एक घण्टाजति हिँड्न सल्लाह दिन चाहन्छु । बिहान चिसो धेरै र प्रदूषण बढी हुने भएका कारण जटिल समस्या भएका बिरामीमा झन् जटिल समस्या आउने भो । अनि त्यो समयमा रुघाखोकी बढ्ने सम्भावना पनि हुन्छ । खानपानका सन्दर्भमा सकेसम्म चिसो हुने खानेकुराहरू खानुभएन । फलफूलहरू खायो भने अलिकति छिटो रोग निको हुने र अलिकति तागत आउने फाइदा हुन्छन् । जाडो महिनामा फलफूलहरू घाममा बसेर खानुपर्यो । फलफूलमा पनि भिटामिन सी युक्त खायो भने फाइदा हुन्छ । मौसम र केरा जस्ता खानेकुरा खानु फाइदा जनक हुन्छ । तर बिरामी हेरेर पनि हुन्छ । समग्रमा जे फलफूल खाएपनि घाममा राखेर खानुपर्यो र भिटामिन सियुक्त फलफूलहरू खानुपर्‍यो ।

घाँटी दुख्ने भन्ने बित्तिकै टन्सिल भयो भन्ने बुझाई हुन्छ नि, रुघाखोकीको कारण हो कि टन्सिलकै कारण हो भनेर कसरी छुट्याउने ?

घाँटी दुखाइको टन्सिल पनि एउटा कारण त हो । टन्सिलको कारण आएको ज्वरो र अरु ज्वरोमा फरक छुट्याउनु चाहिँ पर्छ । टन्सिल भएर पनि घाँटी दुख्छ नै । टन्सिलमा एकदमै धेरै ज्वरो आउँछ । खानेकुरा निल्नै सकिँदैन । अरु घाँटी दुख्ने समस्यालाई फायर इन्जाटिस भन्छौं । निल्न गाह्रो हुन्छ । एकदम धेरै ज्वरो चाहिँ आउँदैन । कुनैपनि घाँटी दुखाई टन्सिल हुँदैन । धेरै ज्वरो आउने, घाँटी दुख्ने, खान मन नलाग्ने टन्सिलमा हुन्छ भने ज्वरो पनि ठिकठिकै आउने तर खान मन लाग्नेलाई चाहिँ सामान्य घाँटी दुखाइको रुपमा लिनुपर्दछ । यसमा मुख्यगरी छुट्याउने कुरा चाहिँ भाइरल ज्वरो र सामान्य ज्वरो नै हो ।

चिसाबाट जोगिन नागरिकलाई तपाईँको सुझाव के छ ?

मैले सन्देश दिनुपर्दा चिसो याममा हुने रुघाखोकी छुट्याउनुपर्यो । त्यसलाई छुट्याउने एउटा मात्रै तरिका छ । खान मन लागेन र उच्च ज्वरो आयो भने त्यो इन्फ्लुन्जातिर गयो । यदि ज्वरो पनि ठिक्क आएको छ र खान मन पनि लागेको छ भने त्यो भाइरल खोकी भनेर बुझ्नुपर्यो । अनि अर्को कुरा, खासगरि मर्निङ वाक गर्नेहरूले बिहानको समयमा मर्निङ वाक नगरिदिनु होला । अलिकति घाम लागेको बेला र सडकमा गाडीको चाप कम भएको बेला मात्र मर्निङ वाक गर्नुहोला । बिहान उठेर वाक गर्नैपर्छ भन्ने कन्सेप्ट छ । चिसो महिनामा नगर्नको लागि आग्रह गर्दछु । मर्निङ वाक घरमा पनि गर्न सकिन्छ । मनोरञ्जनका क्रियाकलाप पनि घरमा गर्न सकिन्छ । यसका लागि माइण्ड पनि फ्रेस हुनुपर्दछ । मर्निङ वाकमा प्रयोग हुने मुख्य कुरा नै माइण्न फ्रेस हो । त्यसका लागि बाहिर गर्नु बढी उपयुक्त हुन्छ । घरमा त एउटै चिजहरू देखिइरहेको हुन्छ । त्यसैले मर्निङ वाकमा फ्रेसनेस पनि जरुरी छ । कसैकसैले घर र अफिसमा हिँड्ने गरेको बताउनु हुन्छ । त्यो हिँडाइले मर्निङ वाकमा फरक नपर्ला । जुन हिँडाई फ्रेस छ, काम बिनाको छ त्यो नै महत्पूर्ण छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
आज देशभर सरस्वतीको पूजा गरिँदै

काठमाडौ - देशभर सरस्वतीको पूजा गरिँदै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको Read more

एलीना चौहानले बिहे भएको १० महिना नहुदै सम्बन्धविच्छेदका लागि मुद्दा

नेपालकी चर्चित गायिका तथा मोडेल एलीना चौहानले विवाह भएको १० महिना नपुग्दै आफ्ना पति विष्णु साउकोटासँग सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता Read more

सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिने ऐन संशोधन गरिदैं

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिन सेवा सुविधासम्बन्धी ऐन संशोधन Read more

अछामका झपट शाहलाई रुस सरकारले गर्यो पुरस्कार र सम्मान

अछामको बान्नीढीजयगढ गाउपालिका वडा नम्बर ६ दर्ना घर भएर रुसी सेनामा कार्यरत झपटबहादुर शाह त्यहाँको सरकारबाट सम्मानित भएका छन् । Read more