सार्वजनिक ऋण झन्डै २५ खर्ब रुपैयाँ पुग्याे, विकास बजेटभन्दा साँवा ब्याज भुक्तानीमा बढी खर्च

काठमाण्डाै – सार्वजनिक ऋणको दायित्व वर्षेनि वृद्धि भएसँगै सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ । विकास बजेटभन्दा बढी रकम सार्वजनिक ऋणको साँवा ब्याज तिर्नमा खर्च हुन थालेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/८२ को मङ्सिर मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार सरकारी ऋण झन्डै २५ खर्ब रुपैयाँ हाराहारी छ ।

‘चालू आर्थिक वर्षको शुरूमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा मङ्सिर मसान्तसम्ममा ५८ अर्ब ३१ करोड थप भई सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ९१ करोड रुपैयाँ छ । याे कुल गार्हस्थ उत्पादनको ४३ दशमलव ६९ प्रतिशत हुन आउँछ’, प्रतिवेदनमा भनिएको छ, ‘मङ्सिर महिनामा ५८ अर्ब २४ करोड ऋण दायित्व भुक्तानी तथा २१ अर्ब २३ करोडमात्र ऋण प्राप्ति भएको र विनिमय दरमा भएको घटबढको प्रभावले कात्तिक मसान्तसम्मको तुलनामा मङ्सिर मसान्तसम्ममा २५ अर्ब ६४ करोड रुपैयाँ ऋण दायित्व घट्न गएको छ ।’

कार्यालयका अनुसार सरकारले अहिलेसम्म तिर्न बाँकी आन्तरिक ऋणको दायित्व १२ खर्ब १७ अर्ब ६६ करोड १८ लाख अर्थात् सार्वजनिक ऋणको २१ दशमलव ३४ प्रतिशत छ । त्यसैगरी बाह्य ऋण दायित्व १२ खर्ब ७४ अर्ब ७५ करोड रुपैयाँ अर्थात् २२ दशमलव ३५ प्रतिशत छ ।

सरकारले चालू आर्थिक वर्षका लागि पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा मङ्सिर मसान्तसम्ममा एक खर्ब ९२ अर्ब २९ करोड रुपैयाँ ऋण उठाइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा पाँच महिनाको सार्वजनिक ऋण प्राप्ति ३५ दशमलव १५ प्रतिशत बराबर हो । चालू आर्थिक वर्षका लागि आन्तरिक ऋणतर्फ तीन खर्ब ३० अर्ब उठाउने लक्ष्य रहेकोमा अहिलेसम्म वार्षिक लक्ष्यको ४९ दशमलव ७० प्रतिशत अर्थात् एक खर्ब ६४ अर्ब रुपैयाँ बराबर ऋण उठाइसकेको छ ।

यसैगरी दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने लक्ष्य रहेकाेमा अहिलेसम्म वार्षिक लक्ष्यको १३ दशमलव ०४ प्रतिशत अर्थात् २८ अर्ब २९ करोड १८ लाख रुपैयाँ प्राप्त भएको छ । सार्वजनिक ऋणको साँवा ब्याज तिर्न सरकारले चालू आर्थिक वर्षका लागि चार खर्ब दुई अर्ब रुपैयाँ बजेट छुट्याएको छ । मङ्सिर मसान्तसम्ममा एक खर्ब ७० अर्ब ४९ करोड रुपैयाँ साँवा ब्याज भुक्तानी भएको कार्यालयले जनाएको छ ।

कुल गार्हस्थ उत्पादनका आधारमा मङ्सिर मसान्तसम्मको ऋण सेवा खर्च दुई दशमलव ९९ प्रतिशत रहेको छ । सरकारले विकास निर्माणमा विनियोजन गर्ने वार्षिक बजेट अर्थात् पूँजीगत शीर्षकको तुलनामा सरकारी ऋणको साँवा ब्याज तिर्न छुट्याइने बजेट बढी छ ।

चालू आर्थिक वर्षका लागि सरकारले पूँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जबकि सरकारी ऋणको साँवा ब्याज तिर्न चालू आर्थिक वर्षका लागि चार खर्ब दुई अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । यी दुई शीर्षकमा मङ्सिर मसान्तसम्म भएको खर्चको अवस्था हेर्ने हो भने पूँजीगत बजेट खर्चभन्दा ऋणको साँवा ब्याज तिर्न भएको खर्च झन्डै साढे चार गुणाले बढी छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार मङ्सिर मसान्तसम्म सरकारको पूँजीगत खर्च ४० अर्ब ८० करोड रुपैयाँ मात्रै छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
आज देशभर सरस्वतीको पूजा गरिँदै

काठमाडौ - देशभर सरस्वतीको पूजा गरिँदै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको Read more

एलीना चौहानले बिहे भएको १० महिना नहुदै सम्बन्धविच्छेदका लागि मुद्दा

नेपालकी चर्चित गायिका तथा मोडेल एलीना चौहानले विवाह भएको १० महिना नपुग्दै आफ्ना पति विष्णु साउकोटासँग सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता Read more

सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिने ऐन संशोधन गरिदैं

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिन सेवा सुविधासम्बन्धी ऐन संशोधन Read more

अछामका झपट शाहलाई रुस सरकारले गर्यो पुरस्कार र सम्मान

अछामको बान्नीढीजयगढ गाउपालिका वडा नम्बर ६ दर्ना घर भएर रुसी सेनामा कार्यरत झपटबहादुर शाह त्यहाँको सरकारबाट सम्मानित भएका छन् । Read more