हुम्ला । सिमकोटबाट हिल्सा जाँदै गरेको जिप कर्णाली नदीमा खसेको छ । हुम्लाको च्याछहरा भिरमा उकालो चढ्दै गरेको कर्णाली प्रदेश ०३-१-०२२ च ५१२६ नम्बरको बलेरो जिप सोमबार बिहान च्याछहरा भिरबाट कर्णाली नदीमा खसेको हो । दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
सोमबार बिहान ५ बजे सिमकोटबाट हिल्साका लागि हिँडेको जिप बिहान करिब ७ बजे उक्त भिरबाट खसेको प्रहरीले जनाएको छ ।
जनकपुर घर भएका चालक राजेशहेमजंग तामाङको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए । जिप भिरबाट खस्दा हाम फालेका उनी सिकिस्त घाइते भएका थिए । दुर्घटना अघि अफ्ठ्यारो उकालो सडक भएकाले उनले जिपका यात्रुलाई भने ओरालेका थिए ।
कामका लागि चीनको ताक्लाकोट जान सीमा पास बनाउन सदरमुकाम सिमकोट आएका लिमीका १२ जना यात्रु बोकेर उक्त जिप हिल्सा जाँदै थियो । च्याछहराको भिरमा अफ्ठ्यारो उकालो बाटोका कारण जिप चढ्न नसक्ने भएपछि चालकले सबै यात्रु ओरालेका थिए । यात्रु बिनाको जिपलाई उकालोमा चढाउने क्रममा नदीमा खसेको थियो । चालकले अफ्ठ्यारो बाटोमा यात्रु लिएर हिँड्ने जोखिम नउठाएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको डीएसपी भट्टराईले उल्लेख गरे ।
सामानसिहत भिरबाट ५० मिटर तल कर्णाली नदीमा खसेको जिप डुबेर बेपत्ता भएको छ । घटनास्थलदेखि नदीको तल्लो भागमा प्रहरी र स्थानीयबासीले जिपको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।