बझाङ – सन् २००४ मा आजकै दिन (फेब्रुअरी ४) मा सामाजिक सञ्जाल फेसबुकको स्थापना भएको थियो ।अमेरिकाको हार्वार्डका विद्यार्थी मार्क जुकरबर्गले आफ्ना सहपाठीहरू एडुवार्डो साभेरिन, एन्ड्रिउ म्याककोलुम, डस्टिन मोस्कोभिट्ज र क्रिस हग्ससँग मिलेर ‘फेसबुक डट कम’ स्थापना गरेका हुन् । जुकरबर्ग यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् ।
सुरुमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरूमा सीमित फेसबुक बिस्तारै अन्य विश्वविद्यालय हुँदै सर्वसाधारणका लागि खुला भएको हो । २००६ सम्ममा फेसबुक १३ वर्षभन्दा माथिको उमेरका सबैले अकाउन्ट खोल्न पाउने बनाइएको थियो । फेसबुकले २०१० को नोभेम्बर १५ मा म्यासेज गर्न मिल्ने सुविधा ल्याएको हो । त्यस्तै, २०१५ को अप्रिल २८ देखि भिडियो कल र अगस्ट ५ देखि लाइभ गर्न सकिने सुविधा थपिएको हो ।
फेसबुकको केन्द्रीय कार्यालय हाल अमेरिकाको क्यालिफोर्नियास्थित मेन्लो पार्कमा छ । पछिल्लो तथ्यांकअनुसार हाल कम्तीमा ३ अर्ब जनाले फेसबुकमा आफ्नो अकाउन्ट खोलेका छन् । तीमध्ये आधाभन्दा बढीले फेसबुक नियमत चलाउँछन् । २०२३ को अक्टोबरको तथ्यांकअनुसार फेसबुक विश्वमा सबैभन्दा बढी हेरिने वेबसाइटमध्ये तेस्रो स्थानमा छ ।
२०२१ को अक्टोबरमा फेसबुक कम्पनीले आफ्नो नाम परिवर्तन गर्दै मेटा प्लाटफर्मस् इनकर्पोरेटेड राखेको थियो । कम्पनीअन्तर्गत फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि सञ्चालित छन् । सीईओ जुकरबर्गले सामाजिक सञ्जालभन्दा बाहिरका क्षेत्रमा काम विस्तार गर्न कम्पनीको नाम परिवर्तन गरिएको जनाएका थिए ।